
कञ्चनपुरमा तरभुज चोरीको आरोपमा ९ वर्षीय बालकमाथि अमानवीय कुटपिट
कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–५, पोल्खरीमा ९ वर्षीय एक बालकमाथि अमानवीय ढंगले कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। तरभुज चोरीको आरोपमा स्थानीय ३६ वर्षीय भोज नाथले ती बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन्।
घटना बुधबार दिउँसो भएको हो। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ। भिडियोमा बालकका हात पछाडि डोरीले बाँधिएको र खुट्टा पनि बाँधेर कुटपिट गरिएको देखिन्छ। पीडित परिवारले उक्त भिडियो प्रमाणका रूपमा प्रहरीमा बुझाएका छन्।
घाइते बालक राजेश भण्डारी वेदकोट नगरपालिका–३, दैजी निवासी हुन्। उनी साथीहरूसँग चौधर नदी किनारमा गाईबस्तु चराउन र क्रिकेट खेल्न गएका थिए। खेलका क्रममा बल नदीतर्फ जाँदा लिन जाँदै गर्दा काक्राबारी हुँदै गएको देखेर भोज नाथले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको बालककी हजुरआमा नन्दा मेहताले दिएको जाहेरीमा उल्लेख छ।
जाहेरी अनुसार, बालकका हातखुट्टा बाँधेर ढुंगा, लठ्ठी तथा लातमुक्काले कुटपिट गरी गम्भीर घाइते बनाइएको छ। साथै उनलाई कुकुर लगाएर टोकाउने प्रयाससमेत गरिएको आरोप छ। घटनापछि स्थानीयले बालकको उद्धार गरेका थिए।
बालकका आमा–बुबा रोजगारीका लागि भारतमा रहेका र उनी हाल मामा घरमा बस्दै आएका थिए। घाइते बालकको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार घटनामा संलग्न भोज नाथलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।



कागजपत्र |
