
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि एक हप्ता समय दियो
काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता दर्ताका लागि थप एक साताको समय दिएको छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यताको शुल्कसहित विवरण केन्द्रीय कार्यालयको डिजिटल प्रणालीमा प्रविष्ट नगरेका जिल्ला र क्षेत्रलाई थप समय दिने निर्णय गरेको हो।
बैठकले १५औं महाधिवेशनलाई लक्षित गर्दै जिल्ला कार्यसमितिमार्फत नवीकरण भएका र प्रतिनिधिसभा क्षेत्रमार्फत नयाँ दर्ता भएका क्रियाशील सदस्यहरूको विवरण प्रणालीमा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका र नबुझाएका जिल्लाहरू छुट्याएर व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, विदेशस्थित जनसम्पर्क समितिहरूलाई समेत वर्गीकरण गरिने भएको छ। अधिवेशन सम्पन्न गरिसकेका र अझै अधिवेशन हुन नसकेका जनसम्पर्क समितिको अवस्था छुट्याएर उनीहरूको समस्या पहिचान गरी समाधान गर्ने निर्णय गरिएको छ।
अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिका क्रियाशील सदस्यहरूको विवरण भने नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संशोधनसहित) अनुसार अद्यावधिक गरिने जनाइएको छ।



कागजपत्र |
