त्रिविका पदाधिकारी राजीनामा दिने तयारीमा


काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले राजीनामा दिने भएका छन्। नयाँ सरकारलाई काम गर्न सहज बनाउन भन्दै उनीहरूले पदबाट अलग हुने तयारी गरेका हुन्।

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामाको निर्णय लिएका हुन्।

उपकुलपति प्रा. अर्याललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८२ असार २५ गते त्रिविको उपकुलपति नियुक्त गरिएको थियो। यसअघि उपकुलपति रहेका प्रा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याल नियुक्त भएका थिए।

त्यसैगरी रेक्टर प्रा. केसी र रजिस्ट्रार प्रा. रिजाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते नियुक्त गरिएको थियो। उनीहरू दुवैलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा पदस्थापन गरिएको थियो। त्रिविमा उपकुलपति, रेक्टर र रजिस्ट्रार प्रधानमन्त्री (कुलपति) को सिफारिसमा नियुक्त हुने व्यवस्था छ र उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ।

 

प्रतिक्रिया