वर्षासँगै काठमाडौंको वायु गुणस्तरमा सुधार


काठमाडौं- काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। सुक्खा मौसम र वन डढेलोका कारण केही दिनअघि उच्च बनेको प्रदूषण हालको वर्षासँगै क्रमशः घट्दै गएको हो।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। उक्त अवस्थामा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।

तर पछिल्लो तथ्यांकअनुसार आज काठमाडौंको एक्युआई घटेर ७९ मा झरेको छ, जुन ‘मध्यम’ श्रेणीमा पर्छ। प्रदूषण घटेसँगै काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पनि तल झरेको छ। गत साता पहिलो स्थानमा रहेको काठमाडौं आज २६औँ स्थानमा पुगेको एक्युआईको तथ्यांकले देखाएको छ।

एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार पछिल्लो समय परेको पर्याप्त वर्षा र हुरीका कारण वायुमा रहेको धुलो तथा धुवाँ कम भएको हो। लामो समय वर्षा नहुँदा धुलो, धुवाँ र वन डढेलोबाट निस्किएको प्रदूषण वायुमण्डलमा थुप्रिने भएकाले अवस्था बिग्रने गरेको उनले बताए।

उनका अनुसार छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तरमा असर पार्ने गरेको छ। प्रदूषण नियन्त्रणका लागि दिगो, वातावरणमैत्री विकास नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया