कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको अपिल (विज्ञप्ति सहित)


सुर्खेत – कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादर शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ ।

सोही अनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् । चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्यूहरुमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।

 

 

प्रतिक्रिया