
सरकारले ल्याएका अध्यादेश जारी नगर्न प्रतिपक्षी दलहरूले गरे राष्ट्रपतिलाई आग्रह
काठमाडौं- प्रमुख प्रतिपक्षीसहितका प्रतिपक्षी दलहरूले सरकारले सिफारिस गरेका अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।
सरकारले संवैधानिक परिषदसम्बन्धी सहित पाँच वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोही विषयमा आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले ती अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा सहभागी थिए ।
बैठकपछि निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद छल्ने उद्देश्यले अध्यादेश सिफारिस गरिएको दाबी गरे । उनले भने, “राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेशहरू संसदलाई छल्ने उद्देश्यका साथ ल्याइएका हुनाले स्वीकृत नगर्न हार्दिक अनुरोध गर्दछौं।”
यससँगै प्रतिपक्षी दलहरूले स्थगित गरिएको संघीय संसदका दुवै सदनको अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग माग गरेका छन् ।



कागजपत्र |
