रास्वपाका सांसदलाई कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई कागजात, लेटरहेड र परिचयात्मक सामग्रीमा एकरूपता कायम गर्न निर्देशन दिएको छ। साथै, कुनै पनि आधिकारिक वा अनौपचारिक कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न पनि स्पष्ट निर्देशन दिइएको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्णय गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले सांसदहरूलाई पार्टीभित्र अझै धेरै सिक्न बाँकी रहेको भन्दै मेन्टर तथा सल्लाहकारको अभ्यास अपनाउन र आवश्यक परे सुझाव तथा सल्लाह लिन प्रोत्साहित गरेको छ।

त्यसैगरी, आगामी निर्वाचन लक्षित तयारी अन्तर्गत वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ अभ्यास सुरु हुने भएकाले कुनै पनि सांसद वा नेताले सम्भावित उम्मेदवारी वा टिकट वितरणबारे व्यक्तिगत प्रतिबद्धता नगर्न निर्देशन दिइएको छ। यस्ता अभ्यासविपरीत गतिविधि भेटिएमा कारबाही गरिने चेतावनीसमेत पार्टीले दिएको छ।

यसअघि सांसद विश्वराज पोखरेलले जिल्लामा आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगरेको भन्दै एक विद्यालयका प्रधानाध्यापकलाई हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र आचरणबारे बहस भएको थियो।

प्रतिक्रिया