
भेरी अस्पतालका चिकित्सक आन्दोलित: ओपिडी ठप्प, बिरामीहरू अलपत्र
नेपालगन्ज- भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूले आफूमाथि दुर्व्यवहार, हातपात र ज्यान मार्ने धम्की आएको भन्दै ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका बिरामीहरू मारमा परेका छन्। आन्दोलनका कारण पछिल्ला दुई दिनदेखि अस्पतालको ओपिडी सेवा पूर्ण रूपमा ठप्प रहेको छ।
बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरकी ६० वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै चिकित्सकमाथि दुर्व्यवहार र हातपात गरेका थिए। सोही घटनापछि असुरक्षाको कारण देखाउँदै ओपिडी सेवा बन्द गरिएको भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीले जानकारी दिए ।
उनका अनुसार बिरामीलाई बचाउने प्रयासका बाबजुद मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि भौतिक आक्रमण र ज्यान मार्ने धम्की दिइएकाले सुरक्षाको सुनिश्चितता नभएसम्म ओपिडी सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको हो।
ओपिडी सेवा बन्द हुँदा टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बुधबार भेरी अस्पताल पुगेका बर्दियाको मैनापोखरका दीपक थापाले उपचार गर्न नपाउँदा ठूलो समस्या भएको बताए। यस्तै, डुडुवा–कम्दीका रमेश मौर्यले पनि उपचारका लागि आएर जाँच गर्न नपाउँदा निजी अस्पतालतर्फ जान बाध्य भएको गुनासो गरे।
अस्पताल परिसरमा पुगेका अन्य बिरामीहरूले पनि ओपिडी सेवा सुचारु गर्न माग गर्दै इमर्जेन्सी विभाग अगाडि भेला भएर विरोध जनाएका छन्।



कागजपत्र |
