
बढी भाडा असुल्ने ५४ सवारी चालक कारबाहीमा
काठमाडौं – तोकिएको भन्दा बढी भाडा असुल्ने ५४ सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सार्वजनिक यातायातले सरकारले निर्धारण गरेको भाडादर पालन गरेको छ कि छैन भन्नेबारे अनुगमन गरेको हो। उक्त क्रममा २९९ वटा बसमा जाँच गरिएको थियो।
कार्यालयका अनुसार अनुगमनका क्रममा ५४ सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा लिएको पाइएको छ। एसपी नरेशराज सुवेदीले बढी भाडा लिने सार्वजनिक यातायातमाथि सचेतना, अनुगमनसँगै कारबाही प्रक्रिया कडा बनाइएको बताए।
उनका अनुसार प्रत्येक सार्वजनिक सवारीमा यात्रुले स्पष्ट देख्ने गरी भाडा दर टाँसिएको हुनुपर्ने व्यवस्था छ। साथै, विद्युतीय सवारीको भाडादर वृद्धि नभएकाले त्यस आधारमा बढी भाडा लिन नपाइने पनि उनले प्रस्ट पारे।
तोकिएकोभन्दा बढी भाडा असुल्ने सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
