
टिकटकमार्फत चरित्रहत्या गरेकाे आरोपमा तुल्सी अधिकारीविरुद्ध साइबर मुद्दा
काठमाडौं- सामाजिक सञ्जालमार्फत एक महिला र उनको परिवारको चरित्रहत्या गरेको आरोपमा टिकटकर तुल्सी अधिकारीविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
अधिकारी लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल–६ की स्थायी बासिन्दा हुन्। हाल ललितपुर महानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३३ वर्षीया अधिकारी अहिले चीनमा रहेको बताइएको छ। उनी पेसाले ज्वेलरी डिजाइनरसमेत हुन्।
पीडित पुरुषले दिएको जाहेरीअनुसार अधिकारीले ‘Tulsa (Jewelry Designer)’ र ‘ROWDYZM’ नामका टिकटक आइडीमार्फत पीडितको नाम जोडेर अश्लील, अमर्यादित तथा अपमानजनक सामग्री सार्वजनिक गरेकी थिइन्।
अभियोगपत्रमा उल्लेख भएअनुसार उनले सार्वजनिक गरेका भिडियोहरूमा पीडितको प्रतिष्ठामा आँच पुग्ने गरी उनकी श्रीमतीलाई चौथो चरणको क्यान्सर लागेको भनी झुटो प्रचारसमेत गरिएको छ।
यति मात्र होइन, अधिकारीले विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज गर्दै पीडितका १२ वर्षीय नाबालक छोरालाई समेत मुछेर ‘एडप्ट गरेको छोरो जनजाति जस्तो भयो’ भन्दै होच्याएको र घृणा फैलाएको आरोप लगाइएको छ।
त्यसैगरी, पीडितले बच्चा पाउन नसक्ने भन्दै पाठेघरसम्बन्धी विषयमा समेत अत्यन्त तल्लोस्तरको टिप्पणी गरिएको र पीडितको व्यक्तित्व तथा अस्तित्वमै असर पर्ने गरी निरन्तर भिडियो पोस्ट तथा लाइभ स्ट्रिम गरिएको अभियोगपत्रमा उल्लेख छ।
अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) अनुसार मुद्दा चलाइएको हो। उक्त कसुर पुष्टि भएमा एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडितलाई परेको मानसिक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति भराउन तथा पीडित राहत कोषमा शुल्क जम्मा गराउनसमेत माग गरिएको छ।
हाल फरार रहेकी अधिकारीलाई अदालतमा उपस्थित गराउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ अनुसार म्याद जारी गर्न अनुरोध गरिएको छ। साथै, उनलाई पक्राउ गर्न २०८३ वैशाख २ गते इन्टरपोल शाखामा पत्राचार गरिएको पनि अभियोगपत्रमा उल्लेख छ।



कागजपत्र |
