काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा


धुलिखेल – जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सो घोषणा गरिएको हो ।
पालिकालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले भुम्लु गाउँपालिका जिल्लाका १३ वटा पालिकामध्येको पूर्ण खोप सुनिश्चितामा यो तेस्रो पालिका भएको बताए ।
यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै उनले आगामि दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उतिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सो क्रममा उनले भुम्लु गाउँपालिकाले पालिकास्तरीय बालसञ्जाल गठनको घोषणा गरेर अब वडा र सिङ्गो गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्न थप सहयोग पुगेको बताए ।
कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिका स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मेहनतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको बताए । उनले बालमैत्री शासन व्यवस्था स्थापनाका लागि अब पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने काममा लागिपर्न बालसञ्जाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले खोपको सुनिश्चिततासँगै अब दिगोपना दिनका लागि बालबालिकाका अभिभावकहरुलाई पनि खोपको महत्व बुझाउन जरुरी रहेको बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप अधिकृत पार्थमणि न्यौपानेले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एवं रोगसँग लड्नसक्ने शक्ति विकासका लागि जन्मेको १५ महिनाभित्रमा गुणस्तरीय खोप लगाइसक्नुपर्ने बताए ।

प्रतिक्रिया