
ट्रम्प सहभागी डिनरमै गोलीकाण्ड, सन्दिग्ध शिक्षक–गेम डेभलपर
वासिङ्टन डीसी- अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजित ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा भएको गोलीकाण्डबारे नयाँ विवरण सार्वजनिक भएका छन्। सुरक्षा निकायहरूले घटनाका सन्दिग्धलाई ३१ वर्षीय कोल टमस एलन भएको पुष्टि गरेका छन्, जो क्यालिफोर्नियाको टोरन्स क्षेत्रमा बसोबास गर्ने बताइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार एलनले एक निजी शिक्षा कम्पनी ‘सीटू एजुकेशन’ मा पार्ट–टाइम शिक्षकका रूपमा काम गरेको र उनलाई सन् २०२४ डिसेम्बरमा ‘टिचर अफ द मन्थ’ समेत घोषणा गरिएको थियो। कम्पनीले उनको कार्यबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लिंक्डइन प्रोफाइलका अनुसार एलनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र क्यालिफोर्निया स्टेट युनिभर्सिटी–डोमिन्गुएज हिल्सबाट कम्प्युटर साइन्समा स्नातकोत्तर गरेका थिए। उनले स्वतन्त्र रूपमा भिडियो गेम विकासमा समेत संलग्न रहेको देखिएको छ। एलनले “बोहर्दम” नामक इन्डी गेम बनाइ स्टिम प्लेटफर्ममा बिक्रीमा राखेका थिए भने अर्को खेल “फर्स्ट ल” विकासाधीन रहेको उल्लेख गरेका थिए।
घटनाका क्रममा वासिङ्टन डीसीस्थित हिल्टन होटलमा आयोजित कार्यक्रममा सशस्त्र आक्रमणकारीले सुरक्षा घेरा तोडेर प्रवेश गर्ने प्रयास गरेको बताइएको छ। त्यसपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए। घटनामा एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ भेस्टका कारण उनको ज्यान जोगिएको छ।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा ठूलो आवाज आएपछि उपस्थित पाहुना र कर्मचारीहरू त्रसित हुँदै टेबलमुनि लुकेका थिए। केही क्षणमै अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी परिचालन भएको थियो र अवस्था नियन्त्रणमा लिइएको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सुरक्षाकर्मीहरूको साहसको प्रशंसा गर्दै घाइते अधिकारीको अवस्था सामान्य रहेको जानकारी दिएका छन्



कागजपत्र |
