
नेपालद्वारा यूएईसामू २०१ रनको लक्ष्य
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपालले यूएईसामू २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनमै समेटियो। नेपालको इनिङ्समा उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए।
ओपनर आशिफ शेख ७ रनमै आउट हुँदा कुशल भुर्तेलले २४ रन जोडे। भीम सार्की १० र कप्तान रोहितकुमार पौडेल मात्र २ रनमा आउट भए। बसिर अहमदले २० रन बनाए भने आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडे। करण केसीले २२ रन बनाउँदा सन्दीप लामिछाने २ रनमै आउट भए। ललित राजवंशी शून्य रनमा अविजित रहे।
यूएईका बलर जनाइड सिद्धकी र अजय कुमारले समान ३–३ विकेट लिँदै नेपालको इनिङ्स धराशायी बनाउन महत्वपूर्ण भूमिका खेले।



कागजपत्र |
