
थापाथलीका सुकुम्बासी रंगशालामा, स्क्रिनिङ प्रक्रिया सुरु
काठमाडौं- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। शनिबार बिहानदेखि बस्ती हटाउने कार्यसँगै प्रभावित परिवारहरूलाई त्रिभुवनश्वरस्थित रंगशालामा स्थापना गरिएको स्क्रिनिङ केन्द्रमा ल्याइएको छ।
स्क्रिनिङ केन्द्रमा पुगेका सुकुम्बासीहरूको नाम, परिवार संख्या लगायतका विवरण संकलन भइरहेको छ। साथै, आवश्यक आधारमा केहीलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गर्ने काम पनि सुरु गरिएको छ।
महानगर प्रहरीको सक्रियतामा थापाथली क्षेत्रको अधिकांश सुकुम्बासी बस्ती खाली गराइसकिएको छ। केही परिवारहरू आफ्नो सामानसहित रंगशालामा पुगेका छन् भने अन्यलाई पनि क्रमशः त्यहाँ ल्याउने तयारी भइरहेको छ। यसैबीच, सिनामंगलस्थित खोला किनारबाट पनि सुकुम्बासी परिवारलाई रंगशालामा सार्ने योजना बनाइएको छ।
सरकारले सुकुम्बासी व्यवस्थापनका लागि पाँच स्थानमा होल्डिङ सेन्टर तयार गरेको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट निर्माण गरिएको छ भने कीर्तिपुरस्थित सत्सङ भवनमा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ। यसैगरी, भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गामा समेत सुकुम्बासीलाई राख्ने योजना छ।
सरकारले नक्कली सुकुम्बासीको पहिचान गरी उनीहरूलाई कुनै विकल्प नदिने तथा त्यससम्बन्धी विवरण सार्वजनिक गर्ने तयारी समेत गरेको जनाएको छ।



कागजपत्र |
