
२ विकेटको जितसहित नेपाल महिला टोलीको शानदार सुरुवात
काठमाडाैं- आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत बुधबार भएको खेलमा नेपालले आयोजक रुवाण्डालाई २ विकेटले पराजित गरेको छ ।
गहङ्गा क्रिकेट ओभलमा भएको खेलमा रुवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै पूजा महत्तोले १३ रन र विन्दु रावलले १० रनको योगदान दिँदै जितको आधार तयार पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवाण्डा १९.४ ओभरमै ८८ रनमा अलआउट भएको थियो । घरेलु टोलीका लागि एलिस इकुजवेले १७ रनसहित सर्वाधिक योगदान दिइन् भने मर्वेइले उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ र रोसिन उवेराले १२ रन बनाए ।
नेपालको बलिङतर्फ रचना चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन् । पूजा महत्तो र कविता कुँवरले २–२ विकेट हात पारे भने मनिषा उपाध्याय र रिया शर्माले १–१ विकेट लिए ।
आईसीसीले सञ्चालन गरेको यो प्रतियोगिता डबल राउन्ड रोबिन लिग आधारमा भइरहेको छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।



कागजपत्र |
