
कञ्चनपुरका आरक्ष पीडित आक्रोशित, चर्को घाममा अर्धनग्न प्रदर्शन
कञ्चनपुर- पुनर्स्थापनाको माग गर्दै आरक्ष पीडितहरूले आन्दोलनलाई थप तीव्र बनाउँदै बुधबार अर्धनग्न प्रदर्शन गरेका छन् । टन्टलापुर घामबीच दिउँसो करिब १२ बजे जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूले शान्तिपूर्ण तर कडा विरोध जनाएका हुन् ।
गत सातादेखि नै प्रशासन कार्यालयको मूल गेट अगाडि धर्नामा बसेका पीडितहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्दै चर्को गर्मीमा अर्धनग्न प्रदर्शन थालेका हुन् । उनीहरू लामो समयदेखि पुनर्स्थापनाको माग गर्दै सडकमा संघर्षरत छन् ।
७० वर्षीय आरक्ष पीडित अमरजङ्ग साहीले २४ वर्षअघि खोसिएको जमिनको क्षतिपूर्ति अहिलेसम्म नपाएको गुनासो गरे । “राति बिच्छी, सर्प र मच्छरको डरबीच पालमुनि बस्न बाध्य छौँ,” उनले भने, “सरकारले आधारभूत आवश्यकता नै पूरा नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौँ ।”
आरक्ष पीडित संघर्ष समितिका सचिव कृष्ण भट्टका अनुसार निर्वाचनअघि जमिन उपलब्ध गराउने आश्वासन दिइए पनि हालसम्म कुनै ठोस पहल नभएकाले आन्दोलन जारी राखिएको हो । उनले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
समितिका अध्यक्ष जयबहादुर रोकायाले बहुमतको सरकार हुँदा पनि पीडितको समस्या बेवास्ता गरिएको आरोप लगाए । उनले पुनर्स्थापनासँगै आरक्ष पीडितलाई द्वन्द्व पीडितको रूपमा मान्यता दिई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
पीडितहरूले कम्तीमा १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, आधारभूत सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने, एउटै वडा घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
वि.सं. २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका २ हजार ४७३ परिवार अहिले पनि महेन्द्रनगर क्षेत्रमा सार्वजनिक जमिनमा अस्थायी टहरामा कष्टकर जीवन बिताउन बाध्य छन् ।



कागजपत्र |
