
गृहमन्त्री राजीनामापछि प्रधानमन्त्री बालेनले बोलाए सुरक्षा प्रमुखहरु
काठमाडौं- गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका छन् । राजीनामापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा शीर्ष सुरक्षा अधिकारीहरूलाई बोलाएका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
यसअघि राजीनामा दिनुअघि गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग भेट गरेको जानकारी पनि आएको छ । भेटको विवरण सार्वजनिक नभए पनि सोही दिनको घटनाक्रमलाई लिएर सुरक्षा निकायभित्र सरगर्मी बढेको देखिन्छ ।
गुरुङको राजीनामापछि देशको सुरक्षा संयन्त्र, प्रशासनिक समन्वय र आगामी कदमबारे प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको बताइएको छ ।
राजीनामालगत्तै प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखहरूलाई तत्काल छलफलका लागि बोलाउनुले सरकारभित्रको परिस्थितिलाई लिएर चासो बढेको छ ।



कागजपत्र |
