बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।

राष्ट्र बैंकले १६८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी असोज २१ गते हुने बताइएको छ ।

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्विडिटी रेसियोमा गणना गर्न पाइनेछ ।

प्रतिक्रिया