
सिरिज बराबरीका लागि निर्णायक भिडन्त, नेपालले रोज्यो फिल्डिङ
काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले यूएईसँग दोस्रो तथा अन्तिम खेल खेल्दैछ, जहाँ सिरिज जोगाउने दबाबसहित नेपाली टोली मैदान उत्रिएको छ।
खेल साँझ ५ बजे सुरु हुने तय भएको छ। टस जितेका नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले फिल्डिङ रोजेका छन्, जससँगै यूएईले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालका लागि यो खेल ‘गर या मर’ जस्तै बनेको छ। सोमबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएपछि सिरिज बराबरी गर्न आजको खेल जित्नैपर्ने अवस्था आएको हो।
यसैबीच, यस खेलबाट अलराउन्डर सन्तोष यादवले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। टोलीमा व्यापक परिवर्तन गर्दै नेपालले सन्दीप जोरा, शेर मल्ल, बसिर अहमद र अर्जुन साउदलाई विश्राम दिएको छ भने सन्तोष यादवसँगै आरिफ शेख, लोकेश बम र शाहब आलमलाई प्लेइङ–११ मा मौका दिएको छ।
सिरिज जोगाउने दबाब, नयाँ खेलाडीको परीक्षा र रणनीतिक परिवर्तनबीच आजको खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण बनेको छ।



कागजपत्र |
