सिड्नीको सुरुङमा ‘बर्ड म्यान’ बनेका नेपाली विद्यार्थीको दुःखद अन्त्य


काठमाडाैं- नेपालबाट हेर्दा अस्ट्रेलिया भनेको अवसर, समृद्धि र उज्यालो भविष्यको प्रतीकजस्तै लाग्छ. विश्वस्तरीय विश्वविद्यालय, आधुनिक सहर, हरियाली पार्क र आकर्षक संरचनाहरू। तर, टाढाबाट देखिने त्यो चमक नजिक पुग्दा सबैका लागि समान हुँदैन। कतिपयका लागि त्यही सपना पीडादायी यथार्थमा रूपान्तरण हुन्छ।

यही यथार्थको एक मार्मिक उदाहरण बनेका छन् मकवानपुरका ३२ वर्षीय विक्रम लामा। उज्ज्वल भविष्यको सपना बोकेर सिड्नी पुगेका कम्प्युटर साइन्सका विद्यार्थी विक्रमको मृत्युले अहिले अस्ट्रेलियाभरि गम्भीर प्रश्न उठाएको छ, मानिसको जीवनको मूल्य कति हो ? र मानवीयता प्रधान भनिने राष्ट्रको व्यवहारिक अवस्था कस्तो छ ?

न्युजडटकम डट एयू र बेलायती पत्रिका ‘द गार्डियन’ले सार्वजनिक गरेको विवरणअनुसार विक्रम सिड्नीको सेन्ट जेम्स स्टेशनमुनिको सुरुङमा बस्दै आएका थिए। त्यहाँ उनी परेवालाई दाना खुवाउँथे, जसका कारण स्थानीयले उनलाई स्नेहपूर्वक ‘बर्ड म्यान’ भनेर चिन्थे। तर, त्यही ‘बर्ड म्यान’ को शव डिसेम्बर ७ मा त्यही सुरुङभित्र फेला पर्‍यो।

अझ विडम्बनापूर्ण कुरा के भने, उनको अन्तिम क्षण कसरी बित्यो भन्नेबारे कुनै साक्षी छैन। नजिकै कोही थिएन, अन्तिम सास लिँदा उनले कस्तो संघर्ष गरे, कसैले देखेन। रिपोर्टअनुसार उनको शव फेला पर्नुअघि करिब एक लाख मानिस त्यही स्थान हुँदै आवतजावत गरेका थिए तर कसैले केही महसुस गरेन।

गर्मी मौसमका कारण शव पहिचान गर्न नसकिने अवस्थामा पुगेको थियो। अन्ततः डीएनए परीक्षणका लागि नमुना नेपाल पठाउनुपरेको थियो, तब मात्रै उनी विक्रम लामा भएको पुष्टि भयो।

उनको मृत्युले विकसित भनिने सहरभित्र लुकेको एक्लोपनको कठोर यथार्थ उजागर गरेको छ। भीडभाड र व्यस्तताबीच पनि मानिस कति असहाय र अदृश्य बन्न सक्छ भन्ने प्रश्न फेरि उठेको छ। साथै, आप्रवासी विद्यार्थीहरूले भोग्ने मानसिक, आर्थिक र सामाजिक दबाबको गहिरो पक्ष पनि यस घटनाले सतहमा ल्याएको छ।

मकवानपुरस्थित घरमा विक्रमका बुबाआमा अझै छोराको सम्झनामा डुबेका छन्। सुरुमा नियमित फोन गर्ने विक्रम क्रमशः सम्पर्कविहीन हुँदै गए। समय बित्दै जाँदा फोन आउनै छाड्यो। र, एकदिन खबर आयो, छोरा अब कहिल्यै फर्किने छैन।

प्रतिक्रिया