कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने सचिव दिनेश थापामगरले बताए ।

यही समितिले यसअघि पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो। बैठकअघि सभापति गगन थापाले आइतबार खड्कासँग भेट गरेका थिए ।

समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेकै बेला थापाले भेट गरेका हुन् ।

केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अनुशासन समितिको निर्णयमा लेखिएको छ, ‘नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’

तोकिएको समयमा स्पष्टीकरण नबुझाए विधान अनुरूप कारबाही प्रक्रिया अगाडि बढाउने अनुशासन समिति संयोजक गुरुङले जानकारी दिए ।

खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका थिए ।

चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।

 

प्रतिक्रिया