
कानुनी जटिलताले विकास रोकियो, ठूलो सुधार आवश्यक: हर्क साम्पाङ
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीसँग मात्र सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
आइतबार ललितपुरमा पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम हुन नसकेको भन्दै वर्तमान संरचनामा सुधार आवश्यक रहेको धारणा राखे ।
उनले विकास निर्माणका काममा विद्यमान कानुनी जटिलताले समस्या सिर्जना गरिरहेको उल्लेख गर्दै तत्काल ठूलो कानुनी सुधार आवश्यक रहेको सरकारलाई आग्रह गरे ।
‘कानुनमा ठूलो परिवर्तन गर्न जरुरी छ,’ उनले भने, ‘हिजो कानुनमन्त्रीसँग पनि भेट भयो, टिप्पणी उठाउनुपर्छ भन्ने कुरा आउँछ, तर अहिलेको कानुनी संरचनाले काम गर्न नै कठिन बनाइरहेको छ ।’
उनका अनुसार एक मन्त्रालयले विकास निर्माणको काम अघि बढाउँदा अर्को मन्त्रालयले रोक्ने अवस्था विद्यमान छ, जसले गर्दा राज्यको कामकाजमा विरोधाभास देखिएको छ ।
‘बाटो बनाउने मन्त्रालयले काम गर्छ, वन मन्त्रालयले रोक्छ,’ उनले भने, ‘पानी ट्यांकी बनाउने काममा पनि त्यस्तै हुन्छ, यस्तो अवस्थाले विकास रोकिनु हुँदैन ।’
अध्यक्ष राईले सबै संस्कृतिको सम्मान गर्नुपर्ने बताउँदै अल्पसंख्यक समुदायको संस्कृतिलाई दबाउन वा समाप्त गर्न नहुने धारणा राखे ।
उनले संघीयता जनताको मर्मअनुसार चल्नुपर्ने भन्दै सबै निर्णय प्रधानमन्त्रीको तहमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।



कागजपत्र |
