जन्म–विवाह दर्ता अब नागरिक एपमै, एकीकरण प्रक्रिया सुरु


काठमाडौं- राष्ट्रिय पञ्जीकरणका विवरणहरू नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्तालगायतका पञ्जीकरणसम्बन्धी तथ्याङ्क एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु गरिएको हो ।

एकीकरणपछि यस्ता प्रमाणपत्रहरू नागरिक एपमार्फत नै उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।

सरकारले डिजिटल सुशासन सुदृढ गर्दै नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ । यसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत एपमार्फत उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्जिनियरिङ परिषदसँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै प्राप्त हुने व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ४५ दिनभित्र थप सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि मन्त्री डा. विक्रम तिमल्सिनाले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । सोहीअनुसार विभिन्न निकायसँग समन्वय गरी प्रणाली विकास र परिमार्जनको काम भइरहेको छ ।

यसअघि नै नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सेवा सञ्चालनमा आइसकेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया