बँदेल ठानेर हानिएको गोलीले किशोरको ज्यान गयो


प्युठान- प्युठानको एक सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर हानिएको गोली लागेर एक १९ वर्षीय किशोरको मृत्यु भएको छ।

चैत २९ गते गौमुखी गाउँपालिका–४ सुँङगुरखालको चुपाल सामुदायिक वनमा यो घटना घटेको हो। मृत्यु हुनेमा नौंबहनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियार रहेका छन्।

घटनामा परियारसँगै बसेकी गौमुखी-४ की १८ वर्षीया किशोरी पनि घाइते भएकी छिन्। उनको हाल लुम्बिनी सिटी हस्पिटल बुटवलमा उपचार जारी छ र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जना सामुदायिक वनमा शिकार खेल्न गएका थिए। केसीले टाढैबाट जंगली जनावर बँदेल ठानेर गोली प्रहार गरेका थिए। तर, दौडिएर हेर्न जाँदा परियार र किशोरी घाइते अवस्थामा फेला परेका थिए।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई उद्धार पछि जिल्ला अस्पताल पुर्‍याइएको थियो, जहाँबाट उनीहरूलाई थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल पुर्‍याइएको थियो। उपचारका क्रममा परियारको चैत ३० गते मृत्यु भएको हो।

प्रहरीले गोली चलाउने केसीलाई चैत ३० गते र उनीसँगै शिकार खेल्न गएका अन्य तीन जनालाई सोमबार पक्राउ गरेको छ। प्रहरीले लुकाएर राखेका दुई थान भरूवा बन्दुक पनि बरामद गरेको छ।

पक्राउ परेका चारै जनामाथि ज्यान मुद्दा र हातहतियार मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ। प्रहरीले बुधबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय प्युठानमा पत्रकार सम्मेलन मार्फत थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया