कार्यवाहक सभापति भन्दै विज्ञप्ति निकालेपछि खड्का अनुशासन समितिको घेरामा


काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किँदै गएको छ । पार्टीले समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरी आफूलाई कार्यवाहक सभापति उल्लेख गर्दै विज्ञप्ति जारी गरेको विषयलाई लिएर कांग्रेसले खड्कासँग स्पष्टीकरण माग्न गर्न लागेको हो ।

यस विषयमा निर्णय लिन केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दैछ । उक्त बैठकले खड्कालाई औपचारिक रूपमा स्पष्टीकरण सोध्ने तयारी गरेको एक शीर्ष नेताले जानकारी दिएका छन् ।

खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए । उनको उक्त कदमपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

यसअघि नै १८ चैतमा बसेको अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरे कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

खड्काले त्यसअघि १४ चैतमा पनि कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए ।

त्यसको निरन्तरतास्वरूप उनले १७ चैतमा सोही हैसियत प्रयोग गर्दै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएका थिए, जहाँ दुई दिनसम्म छलफल चलेको थियो ।

प्रतिक्रिया