
कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता अद्यावधिकबाट महाधिवेशनको तयारी
काठमाडौं – नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी रूपमा क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ। ‘जरा अभियान’ नाम दिइएको यो कार्यक्रम अन्तर्गत पार्टीले सम्बन्धित वडामै पुगेर सदस्यता नवीकरण गर्ने नीति अपनाएको छ।
अभियानको सुरुवात सभापति गगन थापाले काठमाडौं–३० स्थित वडा कार्यसमितिको कार्यालयमा आफ्नै सदस्यता अद्यावधिक गरेर गरेका हुन्। महामन्त्री गुरुराज घिमिरेका अनुसार विशेष कारण बाहेक सबै सदस्यले आफ्नै वडाबाटै सदस्यता अद्यावधिक गर्नुपर्नेछ।
कांग्रेसले विगतमा रहेको करिब ९ लाख सदस्यताको तथ्यांकलाई अद्यावधिक गरी वास्तविक सक्रिय सदस्यको पहिचान गर्ने लक्ष्य राखेको छ। हालैको निर्वाचनमा केही क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत प्राप्त भएको सन्दर्भमा सदस्यता व्यवस्थापनमा सुधार आवश्यक देखिएको पार्टीको निष्कर्ष छ।
अभियानसँगै सदस्यहरूको ‘बायोमेट्रिक’ विवरण संकलन गरी ‘कांग्रेस आईडी’ बनाउने योजना पनि अघि सारिएको छ। यसले भविष्यमा पार्टीका उम्मेदवार छनोट प्रक्रिया, विशेष गरी प्राइमरी इलेक्सन प्रणालीलाई व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।
यद्यपि, यो अभियानलाई लिएर पार्टीभित्र विवाद पनि चर्किएको छ। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुराना सदस्यता खारेज गर्ने प्रयास भएको आरोप लगाउँदै विरोध जनाएका छन्। उनले पार्टीको लेटरहेड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले अनुशासन उल्लंघनको आरोप लगाउँदै कारबाहीको तयारी थालेको छ।
महामन्त्री घिमिरेले भने पुराना सदस्यता खारेज नभई केवल अद्यावधिक गरिने स्पष्ट पार्दै पार्टीको अनुशासनविपरीत गतिविधिमा अब सहनशीलता नरहने चेतावनी दिएका छन्।
सदस्यता अद्यावधिक अभियान वैशाख मसान्तसम्म चल्नेछ। त्यसपछि वडा, पालिका, प्रदेश हुँदै केन्द्रीय महाधिवेशन असोज १६–१९ मा सम्पन्न गर्ने तालिका सार्वजनिक गरिएको छ।



कागजपत्र |
