क्रियाशील सदस्यता खारेज अस्वीकार्य भन्दै पूर्णबहादुर खड्काले निकाले विज्ञप्ति


काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवादका बीच कार्यवाहक सभापतिको हैसियतमा कडा वक्तव्य जारी गरेका छन्।

ललितपुरस्थित बी.पी. स्मृति भवनका नाममा जारी प्रेस विज्ञप्तिमा खड्काले क्रियाशील सदस्यता कुनै नेताको आवेग वा व्यक्तिगत भाषणका आधारमा खारेज गर्न नसकिने स्पष्ट पारेका छन्। उनले क्रियाशील सदस्यता पञ्चायती शासनकालदेखि गरिएको ऐतिहासिक संघर्ष, लोकतान्त्रिक आन्दोलन र शहीदहरूको योगदानसँग जोडिएको विषय भएकाले यसलाई हल्का रूपमा लिन नहुने बताएका छन्।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा विशेष महाधिवेशन गरी त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिन खोजिएकोप्रति पनि उनले आपत्ति जनाएका छन्। यस्तो कदम पार्टी विधान, संविधान र प्रचलित कानुनविपरीत हुने उनको भनाइ छ।

खड्काले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने तय गरिएको १५औं महाधिवेशनको कार्यतालिकाअनुसार नै सदस्यता नवीकरण तथा वितरण प्रक्रिया अघि बढिसकेको अवस्थामा पुनः सदस्यता खारेज वा नयाँ प्रक्रिया थाल्ने कुरा अवैधानिक र पूर्वाग्रही हुने उल्लेख गरेका छन्।

उनका अनुसार महाधिवेशन नगरी पुनः सदस्यता नवीकरणको विषय उठाउनु अनुचित हो। छुटेका सदस्यलाई समेट्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारिएको छ।

वक्तव्यमा पार्टीभित्र एकता कायम गर्नुपर्ने संवेदनशील अवस्थामा विभाजन ल्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ। साथै, कार्यकर्ता र समर्थकलाई भ्रममा नपरी राष्ट्र, जनता र पार्टीको हितमा सक्रिय रहन अपिल पनि गरिएको छ।

669841289_34823305780646656_7992606271740900532_n-1776064801.jpg

671478950_34823306300646604_3919658544387688464_n-1776064801.jpg

प्रतिक्रिया