
कालीमाटी बजारमा मन्त्री चौधरीको अनुगमन, अनियमितता फेला
काठमाडौं – कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस्थापनमा कमजोरीबारे गुनासो आएपछि मन्त्री चौधरी बिहीबार अनुगमनका लागि कालीमाटी पुगेकी हुन्।
अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
त्यसैगरी विषादी परीक्षणबिना तरकारी उपभोक्तासम्म पुग्ने, बिलबीजकमा अनियमितता हुने तथा इजाजतपत्र नवीकरण नगरी पसल सञ्चालन भइरहेको जस्ता समस्या समेत भेटिएका छन्।
कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११ र ७१८ नम्बरका पसलहरूमा गरिएको निरीक्षणमा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ। कतिपय स्थानमा एउटै दर्तामा दुईदेखि तीन जनाले व्यवसाय सञ्चालन गरेको समेत भेटिएको छ।
माछा बजारमा पनि उस्तै अनियमितता देखिएको छ। २४, १३ ‘ख’, ११ ‘क’, १०, ११ र १० ‘ख’ नम्बरका पसलहरूको निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याएको माछा थोक रूपमा बिक्री गर्दा बिलबीजकमा अनियमितता गरेको पाइएको हो।
मन्त्री चौधरीले अनुगमनपछि बजार व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि कडाइका साथ नियन्त्रण गरिने पनि उनको सचिवालयले जनाएको छ।



कागजपत्र |
