
प्रधानमन्त्रीले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई काममा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सचेत गराएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसका आधारमा स्वास्थ्यमन्त्रीलाई सचेत गराइएको हो।
रास्वपा सभापति लामिछानेले मन्त्रालयको जिम्मेवारी निर्वाहमा पर्याप्त गम्भीरता नदेखिएको भन्दै प्रधानमन्त्रीसमक्ष स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस गरेका थिए। सोही सिफारिसलाई आधार बनाएर प्रधानमन्त्री शाहले उक्त कदम चालेका हुन्।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय गराएको आरोप लागेको थियो। उक्त प्रकरणमा कारबाहीको सिफारिस भएपछि प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट बर्खास्त गरिसकेका छन्।
उक्त घटनाक्रमसँग जोडिएको जिम्मेवारीमा गम्भीरता नदेखिएको ठहर गर्दै स्वास्थ्यमन्त्री मेहतालाई पनि सचेत गराइएको जनाइएको छ।



कागजपत्र |
