ओली भन्छन्: प्रमाण नपुगेपछि रिहा गरियो


काठमाडौं-  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको आरोप लगाएका छन्। मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनले बताएका छन्।

सामाजिक सञ्जालमा बिहीबार लेख्दै ओलीले सरकारको कदमलाई प्रतिशोधपूर्ण भएको उल्लेख गरेका छन्। उनले आफ्नो रिहाइको माग गर्नेहरूविरुद्ध सडकमा प्रहरीले दमन गरेको र केही प्रदर्शनकारी घाइते भएको दाबीसमेत गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने पनि उनले उल्लेख गरेका छन्।

ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गर्ने जानकारी दिएका छन्। यसबीचमा शुभेच्छा र समर्थन प्रकट गर्ने पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन्।

गत चैत १४ गते प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्य समस्या देखिँदा उनलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीका अनुसार बिहीबार  बिहान उनलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको छ र उनी हाल सोही अस्पतालमा उपचाररत छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओलीसहित पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई एकै दिन पक्राउ गरिएको थियो। दुवैजनालाई बिहीबार बिहान थुनामुक्त गरिएको जनाइएको छ।

 

प्रतिक्रिया