बीमितलाई औषधि बाहिर किन्न लगाउने अस्पताललाई कारबाहीको चेतावनी


काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमितलाई औषधि किन्न नगद तिराउने तथा सेवामा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले सोमबार सूचना जारी गर्दै बीमा प्याकेजभित्र पर्ने औषधि बाहिर किन्न पठाउने र बीमितलाई विभेद गर्ने अस्पतालसँगको सम्झौता नै रद्द गर्न सकिने जनाएको हो।

बोर्डका अनुसार पछिल्लो समय केही स्वास्थ्य संस्थाहरूले बीमा सुविधा अन्तर्गत पर्ने औषधि तथा औषधिजन्य सामग्रीसमेत बीमितलाई बाहिरका औषधि पसलबाट नगदमा किन्न लगाएको व्यापक गुनासो प्राप्त भएको छ। यस्ता कार्य नगर्न सचेत गराउँदै बोर्डले नियम उल्लंघन भएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ अनुसार कडा कारबाही हुने स्पष्ट पारेको छ।

त्यस्तै, बीमा सेवा लिन आउने बिरामीलाई अग्रिम समय लिन बाध्य पार्ने तथा अन्य बिरामीको तुलनामा भेदभावपूर्ण व्यवहार गर्ने गतिविधिप्रति पनि बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको छ। यस्ता गतिविधि नरोकिएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ अनुसार सम्बन्धित अस्पतालसँगको बीमा सम्झौता रद्द गरिने चेतावनी दिइएको छ।

बोर्डले औषधि तथा सेवाको दररेट सम्बन्धमा पनि स्पष्ट पार्दै अस्पतालको आफ्नै दररेट बीमा ‘सुविधा थैली’ मा तोकिएको भन्दा कम भएमा अस्पतालकै न्यूनतम दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। साथै, सबै दाबीहरू एपीआईमार्फत बीमा व्यवस्थापन सूचना प्रणालीमा अनिवार्य रूपमा क्लेम गर्न निर्देशन समेत दिएको छ।

प्रतिक्रिया