
‘बिचौलिया’ भन्दै पक्राउपछि लेखापढी व्यवसायी आक्रोशित, सेवा बन्दकाे घोषणा
काठमाडौं – बिचौलिया भन्दै प्रहरीले लेखापढी व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन, पाटन इकाई ललितपुरले आपत्ति जनाएको छ।
आइतबार ललितपुर प्रहरीले मालपोत कार्यालय परिसरबाट केही व्यक्तिलाई बिचौलियाको आरोपमा पक्राउ गरी पछि रिहा गरेको थियो। सो घटनाको विरोध गर्दै एशोसिएशनले लेखापढी सेवा बन्द गर्ने घोषणा गरेको हो।
इकाई समितिका सचिव भरत घिमिरेले कानुनले दिएको अधिकार प्रयोग गर्न पाउने सुनिश्चितता नभएसम्म सम्पूर्ण लेखापढी व्यवसाय बन्द रहने बताएका छन्। उनले सोमबार विज्ञप्ति जारी गर्दै आफ्ना मागको सुनुवाइ नभएसम्म व्यवसाय नगर्न सदस्यहरूलाई आग्रह गरेका छन्।
एशोसिएशनले कानुनी रूपमा अनुमति प्राप्त भू–सेवा केन्द्रका सञ्चालक र लेखापढी व्यवसायीलाई अपराधीझैं पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ। ‘नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० र लेखापढी व्यवसायीसम्बन्धी नियमावली, २०५१ अनुसार अदालतबाट प्रमाणपत्र प्राप्त गरी सेवा दिँदै आएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ।



कागजपत्र |
