
सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस् : सांसद दुलाल
काठमाडौं– प्रतिनिधि सभाको सोमबारको बैठकमा नेकपा सांसद युवराज दुलालले संसद् र सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्।
सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद दुलालले संसद्लाई कहिलेकाहीँ ‘गफ गर्ने अखडा’ जस्तो बनाइएको भन्दै आलोचना गरे। उनले संसद्मा कानुन निर्माण हुने भए पनि बहुमतका आधारमा निर्णय गर्दा ‘पेल्ने’ प्रवृत्ति देखिएको टिप्पणी गरे।
उनले दल त्यागेर जिम्मेवारी लिँदा सत्यको आवाज पनि सुन्नुपर्ने भन्दै संसद्मा गम्भीर र सार्थक बहस आवश्यक रहेको बताए।
सोही क्रममा उनले जनजीवनसँग जोडिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै बाँदर नियन्त्रणको विषय उठाए। ‘कि सरकारले हामीलाई लगेर पालोस्, कि त बाँदर नियन्त्रण गरोस्,’ उनले भने।
सांसद दुलालले सरकारलाई प्रभावकारी रूपमा काम गर्न आग्रह गर्दै स्टन्टबाजीमा समय खर्च नगर्न चेतावनी समेत दिए।
सभामुख डीपी अर्याललाई सम्बोधन गर्दै उनले भने, ‘संसद्बाट बहुमतका आधारमा पेल्ने पनि गरिन्छ। दल त्यागेर गरिमामय जिम्मेवारी लिँदा सत्यको आवाज पनि सुन्नुस्। सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्।’
उनले किसानहरूले बाँदरको समस्याका कारण भोग्नुपरेको कठिनाइबारे पनि संसद्मा उठान गर्दै तत्काल समाधान आवश्यक रहेको बताए।



कागजपत्र |
