
स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई पारदर्शी, प्रविधिमैत्री तथा नागरिकमुखी बनाउने उद्देश्यसहित उच्चस्तरीय समिति गठन गरेको छ।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेकी हुन्। समितिमा सदस्यका रूपमा डा. सरोज शर्मा, डा. भीमप्रसाद सापकोटा, मित्रप्रसाद घिमिरे र उषा तण्डुकार रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी सुरज प्रकाश अर्याललाई दिइएको छ।
मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीका अनुसार समितिलाई चार बुँदे कार्यादेश दिइएको छ। सोअनुसार समितिले आगामी १५ दिनभित्र ‘फ्री हेल्थ पोर्टल’ निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ।
यस्तै, बिरामीको उपचार इतिहास, रेफरल, पुनःसेवा तथा क्लिनिकल फलोअपलाई व्यवस्थित गर्न डिजिटल, एकीकृत र अन्तरआवद्ध बिरामी अभिलेख प्रणाली तीन महिनाभित्र विकास गरी लागू गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
अनावश्यक रूपमा निजी अस्पतालतर्फ हुने रिफरल प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रेफर प्रोटोकल प्रणाली तयार गरी कार्यान्वयन गर्ने तथा सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमनका लागि जिआईओएमएस प्रणाली अनिवार्य रूपमा लागू गर्ने कार्यादेश समेत समितिले पाएको छ।
यसैगरी, अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र विकास गरी सञ्चालनमा ल्याउने र त्यसको अनुगमन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।




कागजपत्र |
