
म कुनै गुटमा छैन : शेखर कोइराला
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्र कुनै पनि गुट वा समूहसँग आबद्ध नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभामा बोल्दै उनले सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर गरिएको प्रचारप्रति असन्तुष्टि जनाए।
उनले भने, “म कुनै पनि समूहमा छैन। यस विषयमा तपाईंहरू स्पष्ट हुनुपर्छ। यही हलमा रहेका साथीहरूले समेत मेरो बारेमा विभिन्न कुरा लेखेको मैले देखेको छु।”
कोइरालाले आफ्नो मुख्य उद्देश्य नेपाली कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको उल्लेख गर्दै त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो शक्ति बनाउने आफ्नो लक्ष्य रहेको बताए।
“नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउनु मेरो प्राथमिकता हो। यसका लागि म अन्तिमसम्म लागिरहनेछु,” उनले भने।
आफूमाथि हुने आलोचनाले कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने, “कसैले जति आलोचना गरे पनि मलाई फरक पर्दैन। मेरो एउटै लक्ष्य भनेको कांग्रेसलाई एकजुट बनाउँदै फेरि पहिलो पार्टी बनाउनु हो।”



कागजपत्र |
