
बादलले उठाए रास्वपाको चुनावी सफलतामाथि प्रश्न
काठमाडौं- नेकपा (एमाले) ले प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपाको चुनावी सफलतामाथि प्रश्न उठाउँदै विभिन्न संस्थागत र बाह्य पक्षको भूमिकामाथि आरोप लगाएको छ । बिहीबार संसद्मा दलीय सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपाको पहिलो दल बन्नु स्वाभाविक नभएको दाबी गरे ।
थापाले उक्त परिणामका पछाडि नेपाली सेना, ब्युरोक्रेसी, तथाकथित ‘सुशीला सरकार’ र ‘बारबरा फाउन्डेसन’ जस्ता पक्षको भूमिका रहेको आरोप लगाए । उनले रास्वपाको जितलाई “जादुमयी” र “अस्वाभाविक” भन्दै बाह्य प्रभाव, एआई, एल्गोरिदम लगायतका तत्वले समेत प्रभाव पारेको दाबी गरे ।
थापाले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र नेताहरूका घरमा भएका आक्रमणहरू सुनियोजित रूपमा गराइएको भन्दै त्यसको उद्देश्यबारे प्रश्न उठाए । जेन–जी आन्दोलनमा हतियारधारी समूहको उपस्थिति रहेको दाबी गर्दै उनले त्यसलाई पनि शंकास्पद रूपमा प्रस्तुत गरे ।
साथै, उनले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउप्रति पनि प्रश्न उठाउँदै यसको उद्देश्यबारे स्पष्ट पार्न माग गरे ।



कागजपत्र |
