
सल्यानको कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते
सल्यान – सल्यानको कपुरकोट गाउँपालिका–४ लामिडाँडामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ११:२० बजे किमुचौरबाट मूलपानीतर्फ जाँदै गरेको (अस्थायी) म.प्र. ०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अटो चालक कपुरकोट–४ किमुचौरका ३८ वर्षीय टिकाराम राना रहेका थिए । दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक युवराज बस्नेतको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी आधारभूत स्वास्थ्य चौकी कपुरकोट पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक टिकाराम राना, कपुरकोट–४ किमुचौरका ७२ वर्षीय दिलबहादुर सुनार, ३८ वर्षीय सागर एरी, ४४ वर्षीय टोपबहादुर एरी र भारत उत्तर प्रदेश घर भई भाँडा बेच्दै हिँड्ने अन्दाजी ५२ वर्षीय सफी अहमद रहेका छन् । घाइतेमध्ये दिलबहादुर सुनार र सफी अहमदको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते चालक राना, दिलबहादुर सुनार, सागर एरी र सफी अहमदलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।



कागजपत्र |
