‘X’ मा एउटा पोस्ट गर्दा पाकिस्तानी क्रिकेटर नसीमलाई २ करोड जरिवाना !


पाकिस्तान – पाकिस्तान सुपर लिग (पिएसएल) सुरु भएको पहिलो सातामै विवादको शृङ्खला देखिएको छ, जसको केन्द्रमा फास्ट बलर नसीम शाह परेका छन् । सामाजिक सञ्जालमार्फत एक राजनीतिज्ञको आलोचना गरेपछि उनलाई ७१ हजार ५०० डलर (२ करोड पाकिस्तानी रूपैयाँ) जरिवाना गर्दै पाकिस्तान क्रिकेट इतिहासकै सबैभन्दा ठूलो आर्थिक दण्ड दिइएको छ ।

नसीममाथिको कारबाहीले यस वर्षको पिएसएललाई थप तनावपूर्ण बनाएको छ, जहाँ अन्य खेलाडीहरू पनि विभिन्न अनुशासन उल्लङ्घनका कारण कारबाहीमा परेका छन् । फास्ट बलर शाहिन शाह अफ्रिदीलाई कडा सुरक्षा प्रोटोकल उल्लङ्घन गरेको भन्दै तीन हजार ५०० डलर जरिवाना गरिएको छ भने ब्याट्सम्यान फखर जमान बल टेम्परिङको आरोपमा अनुसन्धानको घेरामा परेका छन् ।

नसीमले गत बिहीबार लाहोर कलन्दर्स र हैदराबाद किङ्ग्समेनबीचको खेलअघि आयोजित उद्घाटन समारोहमा पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको उपस्थितिलाई लिएर सामाजिक सञ्जाल एक्समा कटाक्ष गरेका थिए । व्यापक रूपमा फैलिएको उक्त पोस्टमा उनले ‘उहाँलाई किन लड्र्समा रानीजस्तै व्यवहार गरिन्छ ?’ भन्ने टिप्पणी गरेका थिए । उक्त पोस्ट तुरुन्तै हटाइए पनि त्यसले ठूलो विवाद निम्त्यायो ।

पछि नसीमले आफ्नो सामाजिक सञ्जाल खाता ह्याक भएको दाबी गरेका थिए । तर पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उक्त दाबी स्वीकार नगरी उनलाई तीन सदस्यीय अनुशासन समितिसमक्ष उपस्थित हुन निर्देशन दिएको थियो । रावलपिन्डीबाट खेल्ने नसीमले समितिसामु माफी मागेको भए पनि बोर्डले कडा निर्णय गर्दै रेकर्ड जरिवाना सुनाएको हो ।

प्रतिक्रिया