
ओली पक्राउबारे सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको आधार र कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ मागेको हो । ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएका कामकारबाहीबारे प्रश्न उठेपछि उक्त प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो । सो घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
उक्त आयोगले ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो । सोही आधारमा प्रहरीले गत शनिबार बिहान दुवैलाई पक्राउ गरेको हो ।



कागजपत्र |
