
बालेनसँगको छलफलमा एमाले पनि सहभागी, हर्क साम्पाङ गएनन्
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोसी प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न दलका सांसदहरूलाई बोलाएर उनले प्रदेशगत छलफल अघि बढाएका हुन् ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलका सांसदहरू सहभागी भएका थिए । एमालेबाट निर्वाचित सुहाङ नेम्वाङ र राजेन्द्रकुमार राईलगायत सांसदहरू छलफलमा सहभागी भएको जनाइएको छ ।
कोसी प्रदेशसँगको छलफल सकिएपछि प्रधानमन्त्री शाहले कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरूसँग पनि संवाद गरेका छन् । उक्त छलफलमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो ।
यद्यपि, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङसहित केही सांसद भने छलफलमा सहभागी भएनन् । साम्पाङले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नहुने बताएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा छलफल गर्ने कार्यक्रम रहेको छ ।



कागजपत्र |
