अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: आर्थिक अवस्था अध्ययन गर्न कार्यदल गठन


काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयका रूपमा देशको पछिल्लो आर्थिक अवस्थाको अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन्। उक्त कार्यदललाई चैत १३ गतेसम्मको समग्र आर्थिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू कार्यान्वयन गर्न तथा फागुन २१ मा प्राप्त नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना तयार गर्न अर्को कार्यदल पनि गठन गरिएको छ।

अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयनका लागि राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न कानुन संशोधन वा खारेज गर्ने विषयमा अध्ययन गर्न समेत कार्यदल बनाएका छन्। यस अन्तर्गत करिब १५ वटा पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

यसका साथै, निजी क्षेत्रको सुरक्षाका उपायहरूबारे अध्ययन गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न अर्को कार्यदल गठन गरिएको छ। ठूला आयोजना कार्यान्वयनमा तीव्रता दिन सहजीकरण गर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेले अबको मुख्य प्राथमिकता बजेट निर्माणमा केन्द्रित रहने बताएका छन्।

प्रतिक्रिया