झापामा ‘बर्ड फ्लु’ प्रकोप : पक्षीजन्य वस्तु ओसारपसारमा रोक


झापा-  दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखिएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। प्रशासनले सङ्क्रमण भएको क्षेत्रलाई केन्द्रविन्दु मान्दै चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका काम अघि बढाएको जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई द्वारा जारी सूचनामा, प्रभावित क्षेत्रबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।

भेटेरिनरी अस्पताल झापा की प्रमुख शीतल भट्टराई का अनुसार दमक–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ। सङ्क्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नष्ट गरिएका छन्।

प्राथमिक ‘र्यापिड टेस्ट’ मा रिपोर्ट पोजेटिभ देखिएपछि थप प्राविधिक पुष्टि गर्न नमूना केन्द्रीय प्रयोगशालामा पठाइएको छ। साथै, दमक र झापा गाउँपालिका मात्र नभई मेचीनगर र अर्जुनधारा नगरपालिकासहित अन्य क्षेत्रहरूमा पनि कुखुरा मर्ने घटनाको सूचना प्राप्त भएको छ।

झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा पनि बर्ड फ्लु फैलिएकाले जिल्लामा उच्च जोखिम रहेको प्रमुख भट्टराईले बताएका छन्।

प्रतिक्रिया