राजीनामा अस्वीकृतपछि गगन थापा पुनः सक्रिय, केन्द्रीय समिति बैठकमा बस्दै


काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पार्टी मुख्यालय सानेपामा बस्दैछ। बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने तयारी गरेको छ भने १५औँ महाधिवेशनको तयारीबारे समेत छलफल हुने बताइएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार बैठकमा प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबारे पनि छलफल हुने मुख्य एजेन्डा रहेका छन्।

यसैबीच, केन्द्रीय समितिबाट राजीनामा अस्वीकृत भएसँगै सभापति गगन थापा आज सानेपास्थित केन्द्रीय कार्यालय पुगेका छन्। यसअघि तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै ६ बुँदे निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको जानकारी दिएका छन्।

महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने विषयलाई अघि बढाउनेछ। साथै, आगामी महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउने, संगठन सुदृढीकरण तथा समग्र पार्टी संरचना सशक्त बनाउने विषयमा समेत गहन छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया