
संसदीय दलको नेता चयनका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत १२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार दिउँसो ४ बजे पार्टी कार्यालय, वनस्थलीमा बैठक बस्नेछ। बैठकमा संसदीय दलको नेता चयन र अन्य विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ। प्रतिनिधिसभा चुनावबाट झण्डै दुई तिहाई मत ल्याएर संसदको सबैभन्दा ठूलो दल बनेको रास्वपाका शीर्ष नेताहरू अहिले सरकार गठनको तयारीमा जुटेका छन्।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिन तय भएको छ। त्यही दिन केही मन्त्रीहरू पनि शपथ ग्रहण गर्ने तयारीमा शीर्ष नेताहरू छलफलमा रहेका छन्।
पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह मन्त्रीहरूको सूची बनाउन निरन्तर छलफलमा रहेका छन्। रास्वपाले मन्त्रालयको संख्या पनि घटाउने तयारी गरेको छ। संसदीय दलको नेताको सम्बन्धमा छलफल गर्नका लागि बोलाइएको बैठकमा बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने योजना रहेको छ।
रास्वपाले यसअघि नै शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरिसकेको छ।



कागजपत्र |
