
चुनावकाे बेला कांग्रेसका ५७ नेताले प्रेम आलेबाट पैसा खाएकाे दाबी
कैलाली- हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसभित्रै गम्भीर आरोप सार्वजनिक भएको छ। उक्त क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नरनारायण शाहले आफ्नै पार्टीका ५७ जना नेता–कार्यकर्ताले प्रतिस्पर्धी उम्मेदवार प्रेमबहादुर आलेबाट पैसा लिएको दाबी गरेका छन्।
एक मिडियासँगको कुराकानीमा शाहले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रहेका आलेले नै आफूलाई भेटेर पैसा बुझ्ने काँग्रेसीहरूको नामावली उपलब्ध गराएको बताएका हुन्। उनका अनुसार पार्टीको नेतृत्व तहमा रहेका व्यक्तिहरू समेत उक्त सूचीमा समावेश छन्।
यद्यपि, शाहले ती व्यक्तिहरूको नाम भने सार्वजनिक गरेका छैनन्। उनले नाम सार्वजनिक गरे पार्टी नै अस्तित्व संकटमा पर्न सक्ने भन्दै सूची गोप्य राखेको बताएका छन्। साथै, कसले कति रकम लिएको भन्ने विषय पनि खुलाइएको छैन।
चुनावमा पैसाको चलखेलबारे उठेको प्रश्नका क्रममा शाहले आफूलाई नै उक्त सूची दिइएको दाबी दोहोर्याएका छन्। यो आरोप बाहिरिएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। धेरैले रकम बुझ्ने काँग्रेसीहरू को–को हुन् भन्ने प्रश्न उठाइरहेका छन्।
उक्त निर्वाचनमा काँग्रेसका उम्मेदवार शाह पराजित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्द ३१ हजार ९ सय ५३ मतसहित विजयी भएका थिए। शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गर्दा प्रेमबहादुर आलेले ७ हजार ८ सय ७६ मत मात्रै पाएका थिए।



कागजपत्र |
