पृथ्वी सुब्बाको सरकार संकटमा, ‘कि होल्डर’ जनमोर्चाले साथ नदिने


काठमाडौं – गण्डकी प्रदेश सरकारको ‘कि होल्डर’का रुपमा रहेको राष्ट्रिय जनमोर्चा पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई साथ नदिने भएको छ ।

सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको जनाइएको छ ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन् ।

गण्डकी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको र त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ ।

‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ वक्तव्यमा भनिएको छ।

आफूहरु वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकोले समर्थन गर्न नसकिने जनमोर्चाको तर्क छ । तर, सुब्बाको सरकारपछि बन्ने सरकारमा समर्थन दिए पनि सहभागी नहुने पनि निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया