
घण्टीमा भोट हाल्ने कार्यकर्तालाई कारबाही हुन्छ : प्रचण्ड
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गतेको चुनावमा ‘घण्टी’मा भोट हाल्ने नेता–कार्यकर्तालाई कारबाही गरिने जनाएको छ। बिहीबार पेरिसडाँडामा बसेको जनवर्गीय संगठनको बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो बताएका हुन्।
प्रचण्डले बैठकमा भने, “को–कोले भोट हालेनन् ? केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य र तपाईंहरूको जनवर्गीय संगठनका केन्द्रीय नेताहरू कुन क्षेत्रको मतदाता माझ गएनन् ? कसले भोट हालेन, कसले घण्टीमा भोट हाले ? त्यसको पूर्ण रिपोर्ट दिनैपर्छ। ती सबैलाई कारबाही गर्नैपर्छ, नत्र पार्टीलाई व्यवस्थित बनाउन सकिँदैन।”
उनका अनुसार कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाट सुरु हुने छ। उनले नेकपाले चुनावमा पाँचकुने तारामा ५० प्रतिशत भोट दिएकाे रिपोर्ट प्राप्त भएको बताए। ‘घण्टी’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न हो।
प्रचण्डले थपे, “हामीले भनेका छौँ– कसले भोट हालेन, को–को घण्टीतिर गएका देखिएका छन्, ती सबैलाई आँखा चिम्लेर कारबाही गर्छौं। पार्टी पुनर्गठन यहीँबाट सुरु हुन्छ। नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुनेछ।”



कागजपत्र |
