

बजेट निर्माणमा अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने : अर्थमन्त्री पौडेल

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणमा अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको तयारी बारेको छलफलमा पौडेलले बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरू नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने बताएका हुन् ।
मन्त्री पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरूलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको समेत बताए । कोरोना भाइरस(कोभिड-१९) ले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि जानकारी दिए। कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनर्उत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने उनले बताए।
आर्थिक वर्षको अन्त्य सम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने पनि उनले स्पस्ट पारे। आयोजना कार्यान्वयनको सन्दर्भमा विगतका समस्याहरूको पुनरावृत्ति नहोस् भन्ने सन्दर्भमा मन्त्रालय सजग रहेको पनि उनले बताए।

