
कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारमध्ये २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिस गरिएका ती नामहरू आजै आयोगमा पेश गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
सिफारिस अनुसार आदिवासी–जनजातिबाट ६, खस–आर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी ५ जनाको नाम आयोगमा पठाइनेछ। बाँकी तीनजनाको नाम क्लष्टर मिलाएर पठाउने समेत प्रवक्ता चालिसेले बताए।
उक्त सूचीमा १५ जना महिला अनिवार्य रूपमा समावेश हुने छ। निर्वाचन आयोगले समानुपातिकमा पाएको मतको आधारमा सांसदको कोटा तोकेर नाम बुझाउन निर्देशन दिएको थियो। कांग्रेसले आयोगमा बुझाएको सूचीलाई आयोगले नै सार्वजनिक गर्नेछ।
प्रवक्ता चालिसेका अनुसार अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्वाचनको पूर्ण समीक्षा गरी पार्टीको धारणा सार्वजनिक गर्ने छ।



कागजपत्र |
