
२३ अंकले बढ्यो नेप्से, साढे १४ अर्ब बढीको कारोबार
काठमाडाैं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २३.८७ अंकले बढेर दुई हजार ८२०.४४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले वृद्धि भएको छ।
आज ३३५ कम्पनीका चार करोड १६ लाख ८६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार २१ अर्बमाथि पुगेको कारोबार रकम बुधबार करिब १३ अर्बमा झरेको थियो।
नेप्सेका १३ समूहमध्ये होटेल तथा पर्यटन, निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा कमले घट्दा बाँकी समूहमा वृद्धि देखिएको छ। बैंक समूह सर्वाधिक २.०२ प्रतिशतले उकालो लाग्दा विकास बैंक, वित्त, जलविद्युत र लगानी समूहको वृद्धि एक प्रतिशतभन्दा धेरै छ।
बजार बढ्दा आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रोपावर, होटेल फरेस्ट इन, दरमखोला हाइड्रो नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।
सर्वाधिक गुमाउनेमध्ये शीर्ष स्थानमा परेका त्रिशूली जलविद्युत् र आँखुखोला जलविद्युत् तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।



कागजपत्र |
